दफा २४
अनुमतिपत्रको व्यवस्था
(१) दफा २३ बमोजिम निवेदन प्राप्त भएपछि प्राधिकरणले सो सम्बन्धमा आवश्यक जाँचबुझ गर्नेछ र त्यसरी जाँचबुझ गर्दा थप जानकारी वा विवरण लिन आवश्यक देखेमा प्राधिकरणले त्यस्तो निवेदन दिने व्यक्तिसंग थप जानकारी वा विवरण माग गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम आवश्यक जाँचुबझ गर्दा प्राधिकरणले अनुमतिपत्र दिन उपयुक्त देखेमा उपदफा (३) र (४) बमोजिम दिइने अनुमतिपत्र बाहेक अन्य अनुमतिपत्रको लागि तोकिए बमोजिमको दस्तुर लिई निवेदकलाई अनुमतिपत्र दिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम जाँचबुझ गर्दा दफा २३ को उपदफा (१) अन्तर्गत निवेदन दिने व्यक्तिहरुमध्ये एक जना मात्र त्यस्तो दूरसञ्चार सेवा संचालन गर्न योग्य देखेमा प्राधिकरणले त्यस्तो व्यक्तिसँग वार्ता गरी अनुमतिपत्र दस्तुर, नवीकरण दस्तुर तथा रोयल्टी निर्धारण गरी निवेदकलाई अनुमतिपत्र दिनु पर्नेछ ।
(४) उपदफा (१) बमोजिम जाँचबुझ गर्दा दफा २३ को उपदफा (१) अन्तर्गत निवेदन दिने एकजना भन्दा बढी व्यक्तिहरु त्यस्तो दूरसञ्चार सेवा संचालन गर्न योग्य देखेमा प्राधिकरणले ती सबै व्यक्तिहरुलाई अनुमतिपत्र दस्तुर, नवीकरण दस्तुर तथा रोयल्टीको सम्बन्धमा बढाबढ गर्न सूचना दिई बढाबढमा सबभन्दा बढी बोलकबोल गर्ने व्यक्तिलाई अनुमतिपत्र दिनु पर्नेछ ।
(५) उपदफा (२) बमोजिम अनुमतिपत्र दिंदा निवेदन प्राप्त भएको मितिले वा उपदफा (१) बमोजिम थप जानकारी वा विवरण मागिएकोमा त्यस्तो जानकारी वा विवरण प्राप्त भएको मितिले नब्वे दिन भित्र दिनु पर्नेछ ।
(६) उपदफा (३) वा (४) बमोजिम अनुमतिपत्र दिंदा दफा २३ को उपदफा (१) बमोजिम निवेदन दिने म्याद समाप्त भएको मितिले वा उपदफा (१) बमोजिम थप जानकारी वा विवरण मागिएकोमा त्यस्तो जानकारी वा विवरण प्राप्त भएको मितिले एक सय बीस दिन भित्र दिनु पर्नेछ ।
(७) उपदफा (५) वा (६) मा तोकिएको म्याद भित्र अनुमतिपत्र नपाउने व्यक्तिले त्यस्तो म्याद नाघेको तीस दिनभित्र नेपाल सरकार समक्ष उजूरी दिन सक्नेछ र त्यस्तो उजूरीमा नेपाल सरकारबाट भएको निर्णय अन्तिम हुनेछ ।